“Poetry is an spontenous overflow of Powerful emotions.” W.W.
हो, म पनि हली हुँ,
माटोसँगै बाँचेको मान्छे,
घामसँगै उठ्ने,
र पसिनासँगै बग्ने।
बिहानको पहिलो किरणसँगै,
मेरो आँखा खुल्छ,
न चिया मीठो लाग्छ,
न त निद्रा नै पुरा हुन्छ,
तर जिम्मेवारीको भारी बोकेर,
म फेरि उभिन्छु, अनि दाैडिन्छु,
अनेकाै सपना लिएर ।
हो, म पनि हली हुँ,
जोत्ने मेरो भाग्य हो,
जोतिने मेरो भाग्य हो ।
बारी मात्र हैन,
आफ्नै जीवन पनि जोतिरहेछु,
एक बारि पछि अर्को निरन्तर ।
भात सँगै सपना खान्छु,
पानीसँगै पीडा पिउँछु,
दिनभरी हलो समाउँदा,
मेरो हात थाक्छ,
मेरो शरिर मात्र होइन,
मेरो आत्मा पनि बोझिल हुन्छ।
तर, थाक्न पाइन्न,
किनकि बाँझो फोर्नु छ,
भोक मेट्नु छ,
घरको मुस्कान बचाउनु छ,
लाला-बाला अनि रिन को भारी गर्हुङगो छ।
साँझ पर्छ, घाम अस्ताउँछ,
म पनि अस्ताउँछु अलिकति,
थाकेको शरीर लिएर घर फर्कन्छु,
शिथिल भएर, खान्छु एक पेग,
गम भुलाउन, पिडा लुकाउन ।
बर्लङ्ग पल्टिन्छु,
तर निद्रा कहाँ सजिलै आउँछ र?
भोलिको चिन्ता, फेरि उही दोहोरिने दिन,
मनभित्र घुमिरहन्छ,
घडिको सुइ सरह, टिक- टिक, टिक- टिक ।
हो, म पनि हली हुँ,
तर माटो मात्रै होइन,
आफ्नो भाग्य पनि जोतिरहेको छु।
हरेक दिन आशा रोप्छु,
तर फल फल्छ, झर्छ, कहिले लटरम्म,
कहिले खाली, तर पनि… म रोकिन्न,
किनकि म श्रमिक हुँ, म हली हुँ,
र मेरो पसिनामै भोलिको सपना छ,
मैले पाल्नु छ परिवारका अाश र पेटहरु,
मैले तिर्नु छ,
धेरै गुन अनि ऋणहरु ब्याज सहित ।।
धन्यबाद ।।

