यो क्यालगरी शहर होइन,
यो त सुकेका सासहरूको
भूमिगत सुरुङ हो,
जहाँ टावरहरूले समय होइन
थकानको उचाइ नाप्छन्।
म हिँड्छु।
छिटो।
मानौँ कसैले मेरो छायाँ
पछ्याइरहेको छ।
तर मेरो पाइलाभित्र
अरू कसैको मौनता हिँडिरहेको छ।
झ्यालहरू उज्याला छन्,
तर त्यहाँ अनुहारहरू छैनन्।
अनुहारहरू छन्,
तर पहिचान हराइसकेको छ।
कसैले भन्यो,
मानिसहरू अझै तिम्रो नजिक छन्।
तर नजिक
धुवाँमा लेखिएको अक्षरजस्तो थियो,
पढ्न खोज्दा आफैँ मेटिने।
यहाँ सम्बन्धहरू
कागजी कपबाट उठ्ने
बाफझैँ छन् ,
क्षणभर न्यानो,
क्षणभरपछि हावामा हराउने।
म रोगको नाम सम्झन्छु,
तर शरीरभन्दा पहिले
आशाले नै
ओछ्यान समातेको धेरै भयो।
सेता कोटहरू गल्लीमा हिँड्छन्।
उनीहरूका आँखामा निदान छैन,
केवल अनुमानको चिसो छ।
र म,
म आफैँसँग कुरा गर्छु।
तर जवाफहरू
भित्ताबाट झरिरहेका
पुराना पोस्टरजस्ता छन्,
भिजेका,
अर्धपढिएका,
आफ्नै मितिबाट लज्जित।
कसैले अँध्यारोभित्र भन्यो,
दुःख।
तर त्यो आवाज
मन्दिरको थियो,
अस्पतालको थियो,
वा मेरो थाकेको चेतनाले
आफैँलाई दोहोर्याइरहेको थियो,
छुट्याउन सकिनँ।
रात यहाँ लामो छ।
यति लामो कि
घडीहरूले पनि
समय छोडिसकेका छन्।
सडकबत्तीहरू
मरेका ताराजस्ता झुन्डिएका छन्।
हावाले
पुराना विज्ञापन च्यात्दै हिँड्छ,
र शहर
आफ्नै खालीपनको रिपोर्ट
लेखिरहेको छ।
तर यसै धुलोभित्र
कतै एउटा सानो दरार अझै बाँकी छ।
त्यहाँबाट
कुनै काँपेको उज्यालो पस्छ,
आशाजस्तो होइन,
प्रार्थनाजस्तो होइन,
केवल निभ्न
अस्वीकार गरेको सानो आगो।
म भत्किएको भग्नाबसेष होइन।
म त
टुक्रा-टुक्रा आवाजहरूभित्र
आफ्नै नाम फेरि चिन्न खोजिरहेको
एउटा अधुरो अभ्यास हुँ।

